-  MNTV Australia   December 3, 2018  

दुई तिहाईको सरकार भन्दैमा जादू हुनेवाला छैन : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

अष्ट्रेलियाको भ्रमणमा रहेका पूर्वअर्थमन्त्री एवं नेकपाका नेता सुरेन्द्र पाण्डेले सरकार दुई तिहाईको भएपनि अन्य अव्यवस्था कायमै रहेको अवस्थामा सरकारले कुनै जादू गर्न नसक्ने बताएका छन् । उनले दीगो विकासका लागि सरकार लागिरहेकोले परिणाम विस्तारै आउने बताए । अष्ट्रेलियाको सिड्नी, ब्रिसबेन, एडिलेड र मेलबर्नमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी बनेका पूर्वमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य पाण्डेले संघीयता नेपालमा चल्दैन कि भन्ने आशंका नगर्न पनि आग्रह गरे । उनले विगतका व्यवस्थाहरु कसरी चल्न सकेनन र परिवर्तित भए भन्ने उदाहरण दिँदै संघीयतालाई राजनीतिक दलहरुकै क्रियाकलापबाट खतरा रहेपनि अहिले तत्कालै त्यस्तो अवस्था नरहेको बताएका थिए । सिड्नीमा नेता पाण्डे र वरिष्ठ अधिवक्ता सूर्य ढुंगेलसँग प्रवासी नेपाली एकता मञ्चले आयोजना गरेको अन्तरक्रियामा उनले अष्ट्रेलियाजस्तो देशमा रहेका नेपालीहरु भावनाकै आधारमा नेपाल फर्किने सम्भावना न्यून हुने भन्दै उनीहरुले नेपालमा लगानी गर्नुपर्ने सुझाव दिए । “यहाँ हुने कमाईभन्दा बढी नेपालमा कमाउन सक्ने वातावरण भएमा मात्र यहाँका नेपाली फर्किनेछन् । यो वास्तविकता हामीलाई थाहा छ ।” उनले महिनाको २५ हजार तलबमा खाडीमा काम गर्न गएकाहरुलाई भने देशले रोक्नसक्नुपर्ने बताए । “देशमै २५ हजारभन्दा बढी तलब दिनसक्ने अवस्था सिर्जना हुने वित्तिकै त्यो जनशक्ति नेपालमै काम गर्छ ।” कार्यक्रममा वरिष्ठ अधिवक्ता सूर्य ढुंगेलले वर्तमान सरकारले गफ बढी दिएको बताए । सरकारले सपना मात्र बाँड्ने काम गर्न नहुने उनको भनाई थियो । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका रमेश पाण्डेको सभापतित्वमा भएको अन्तरक्रियामा युवा संघ नेपालका केन्द्रीय सचिव सन्तोष रावल, जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष छिरिङ शेर्पा, संघीइ समाजका अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङ, एनआरएन आईसीसी सदस्य दिनेश जोशी, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष ध्रुव सुवेदी लगायतले बोलेका थिए । कार्यक्रमको स्ञ्चालन एकता मञ्चका हिमलाल गैरेले गरेका थिए । नेता पाण्डे व्यक्तिगत कामको सिलसिलामा अष्ट्रेलिया आएका हुन् । उनीसँग चितवन समाज अष्ट्रेलियाले समेत सिड्नीमा अन्तरक्रिया र स्वागत कार्यक्रम गरेको छ । यसैबीच, मेलबर्नका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले मेलबर्नस्थित आफ्नै कार्यालयमा नेता पाण्डेलाई स्वागत गरेका छन् । उक्त क्रममा नेता पाण्डेले अष्ट्रेलियामा रहेका नेपालीहरुले यहाँ हासिल गरेको प्रगतिबाट आफु सन्तुष्ट भएको विचार राखेका थिए ।

(Visited 1,042 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English