-  Gopal Tiwari   November 27, 2018  

सामाजिक सुरक्षा योजना सुरु, कामदारलाई पेन्सनदेखि परिवारले राहतसम्म पाउने

कामदारलाई पेन्सनदेखि परिवारले राहतसम्म पाउने

 

नेपाल सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना मंगलबार सुरु गरेको छ । निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरणको व्यवस्थासहित यसखाले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्धावस्था, औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा मंसिर ११ गते मंगलबार सुरु गरेका हुन् ।


यसले निजी क्षेत्रमा आवद्ध श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्ने ग्यारेन्टी प्रदान गरेको छ । ‘नयाँ युग’ को सज्ञा दिँदै घोषणा गरिएको योजनाले कामदारले पेन्सन, उपदान, उपचार खर्चदेखि उसका परिवारले राहतसमेत पाउने छन् ।
यसका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टा गरी त्यसमा सो श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् ।
कोषको रकमबाट श्रमिकलाई पेन्सन र अवकास सुविधामात्रै दिइँदैन, कार्यस्थलमा हुने दुर्घटना बीमा, उपचार खर्चसहित श्रमिकका आश्रित परिवारका लागि पनि विभिन्न सुविधा घोषणा गरिएको छ ।
कोषले यस्तो रकमको १ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४० प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनाका लागि खर्च गर्नेछ । सरकारले कामदारको सामाजिक सुरक्षाका लागि रोजगारदाता आवद्ध गर्ने प्रक्रिया थालिसकेको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन गर्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘आज हामी एउटा नयाँ प्रकृतिको कार्यक्रममा सरिक हुँदैछौं । सिंगो नेपाली समाजलाई एउटा नयाँ युगतर्फ प्रवेश गराउँदैछौं ।’ हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबै नागरिकलाई समेट्ने नयाँ प्रणालीको थालनी भएको उनको कथन थियो । उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदै कम्युनिष्ट सरकारले सबैका लागि सबैको सहभागितामा सामाजिक सुरक्षा योजना लागू गर्ने घोषणा गरेको स्मरणसमेत गराएका थिए । प्रधानमन्त्रीले थपे, ‘ यो कार्यक्रम, त्यसैको निरन्तरता हो ।’ यस कार्यक्रममार्फत २५ वर्षअघि थालेको सामाजिक सुरक्षा कार्यक्रममा थप नयाँ आयाम थपिएको उनले दाबी गरेका छन् ।
उद्घाटन कार्यक्रममालाई सम्बोधन गर्दै श्रममन्त्री गोकर्ण विष्टले भने, ‘निजी क्षेत्रका कम्तीमा ३५ लाख श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न कार्यक्रम ल्याइएको हो । यससँगै श्रमजीवी वर्ग नयाँ युगमा प्रवेश गर्नेछ ।’
सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायत सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योगदान गर्नुपर्नेछ । कोषमा झन्डै १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भइसकेको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षाका लागि निजी र सार्वजनिक क्षेत्रका सम्पूर्ण कामदारको मासिक तलबबाट एक प्रतिशत रकम कोषमा जम्मा गर्दै आएको छ ।
कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चय कोषबापत र ८.३३ प्रतिशत उपदान वापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोष वापत गर्नेे १० प्रतिशत योगदानको रकम गरी जम्मा २८.३३ प्रतिशत रकमबाट कोषले वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गर्नेछ । यस अन्तरगत निवृत्तभरण योजना र अवकाश सुविधा योजना ल्याएको छ ।

(Visited 1,011 times, 1 visits today)

सम्बन्धित समाचारहरू

जन्ती बनेर आदित्यनाथ जनकपुर आउँदै
कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
निर्मलालाई न्याय माग्दै अष्ट्रेलियाको ब्रिसबेनमा दीप प्रज्वलन गरिँदै
महिलाविरुद्धको हिंसाको विरोधमा १६ दिने सचेतना अभियान चलाउँदै दिदीबहिनी समाज भिक्टोरिया
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
नेकपाका ४ वरिष्ठ नेताले बहिस्कार गरे सचिवालय बैठक
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
शनिबारदेखि ईपीएल क्रिकेट कीर्तिपुर मैदानमा
English