-  Gopal Tiwari   November 27, 2018  

प्रथम चौमासिकमा एक प्रतिशत खर्च

सुदूरपश्चिम प्रदेश सरकारको विकासे गतिविधि निराशाजनक

जनताका सम्पूर्ण काम गरेर गाउँ टोल, बजार झिलिमिली बनाउँछु भन्दै भोट माग्ने नेताको चाल देख्दा सुदूरपश्चिमवासी अचम्ममा परेका छन् । यति सम्म कि उनीहरुले चालू वर्षको प्रथम चौमासिकमा सिन्को भाँचेनन् भन्दा फरक पर्दैन ।


यस्तो अचम्मको अवस्था देखायो, सुदूरपश्चिम प्रदेश सरकारले । नियालेर हेर्दा उसको विकासे गतिविधि एकदमै निराशाजनक देखिन्छ । विकास र समृद्धिको कुरा पटक–पटक उठाउँदै आएको प्रदेश सरकारले प्रथम चौमासिकमा (पुँजीगत) विकास बजेट एक प्रतिशत पनि खर्च गर्न सकेन ।
प्रदेश सरकारले उक्त शीर्षकको बजेट ० दशमलव १८१ प्रतिशतमात्रै खर्च गरेको छ । पहिलो चौमासिकमा तलब, भत्ताजस्ता प्रशासनिक खर्चतर्फ भने चालू बजेट ३ दशमलव ०७ प्रतिशत खर्च गरेको छ ।

सरकारले साउनबाट कात्तिकसम्म विकास बजेट २ करोड ९ लाख ६४ हजार ३ सय ६२ रुपैयाँमात्रै खर्च गरेको हो । यही अवधिमा चालू बजेट भने ३९ करोड ५२ लाख १३ हजार ४ सय ८० रुपैयाँ सरकारले निकासा लिएको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीको भनाइ छ ।
उक्त कार्यालयका अनुसार चालू र पुँजीगत गरी पहिलो चौमासिकमा कुल ४१ करोड ६१ लाख ४७ हजार ८ सय ४२ रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको १ दशमलव ७० प्रतिशतमात्र हो ।
प्रदेश सरकारले चालू आवका लागि २४ अर्ब ४२ करोड ९८ लाख २२ हजार बजेट विनियोजन गरेको छ । प्रथम चौमासिकमा चालू बजेटको तुलनामा पूँजीगततर्फको प्रगति एकदमै निराशाजनक छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चालूतर्फ एक करोड ५७ लाख १७ हजार ६ सय २६, पूँजीगततर्फ ४५ लाख ४९ हजार ५ सय १३ रुपैयाँ खर्च गरेको छ । यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले चालू ३१ करोड ४५ लाख ३३ हजार ५ सय ५० र पूँजीगत ६१ लाख ६२ हजार ५ सय ७४, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालू एक करोड दुई लाख ७१ हजार, पूँजीगत ११ लाख ५७ हजार रुपैया खर्च गरेको छ ।
सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रथम चौमासिकमा चालू ४२ लाख २८ हजार र पूँजीगत ५६ लाख ९५ हजार रुपैया खर्च गरेको छ । चालू आर्थिक वर्षमा यो मन्त्रालयको पूँजीगत बजेट आठ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

(Visited 1,438 times, 1 visits today)

सम्बन्धित समाचारहरू

कार्यदल गठन गर्दै अन्तर प्रदेश परिषद् बैठक सकियो
खेतीयोग्य जमिन बाँझो राखे कारबाही
अन्तर प्रदेश बैठकमा मुख्यमन्त्रीहरुको ब्रिफिङ
डाक्टरहरु नै यति धेरै फेल भएपछि…
मिस वर्ल्ड –२०१८ को टप १२ सम्म पुगिन श्रृंखला, दुई उपाधि हातमा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १९४ सूचीकृत
राजदूत खाली देशले मंसिर अन्तिमतिरमात्रै पाउने
प्रधानमन्त्री ओलीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी
‘अपाङ्गता भएका व्यक्तिलाई अवसरमा समान पहुँच हुनुपर्छ’
मेलम्चीको पानी ६० भित्र काठमाडौंमा झर्ने
English