Categories

मेलबर्न न्याभको साधारणसभा सम्पन्न, आगामी जुलाईमा नयाँ नेतृत्वको चयन गरिने

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संगठन नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको साधारणसभा सम्पन्न भएको छ । आईतबार स्थानीय कोबर्गस्थित बिगबेली एशियन क्याफेमा स्म्पन्न भएको साधारणसभालेअध्यक्ष डा. अनुपम पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदन, संस्थाको आय/व्ययको विवरण र वर्षभरि भएका कार्यहरुको माईन्यूट पारित गरिएको थियो । साधारणसभामा प्रस्तुत गरिएको आय व्ययको विवरण लेखा परीक्षण गराइएको जानकारी अध्यक्ष डा. पोखेलले दिनुभएको छ । सन् २०१६/१७ मा भएको आय र व्ययको हिसाब किताबका साथै अध्यक्षको प्रतिवेदनमाथि साधारणसभामा छलफल भई पारित गरिएको हो । साथै साधारणसभाले नयाँ नेतृत्व चयनको लागि निर्वाचनको मिति समेत तय गरेको छ । जस अनुसार नयाँ कार्य समितिले जुलाईको पहिलो तारिखबाट कार्यभार सम्हाल्नेगरी त्यसअघि निर्वाचन सम्पन्न गरिने भएको छ । साधारणसभापछि एमएनटीभीसँग कुरा गर्दै अध्यक्ष डा. अनुपम पोखरेलले यो कार्यकालमा उल्लेखनीय कार्यहरु भएको बताउनुभयो । पोखरेलका अनुसार यस पटक भिक्टोरियाको सरकारी तवरमा प्राप्त हुने अनुदानका लागि पहल गरिएको र यसमा सफलता समेत मिलेका कारण कैयौं कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको थियो । पोखरेलले भन्नुभयो, “मेलबर्न चौतारीको रेडियोथुन हामीले नियमित गर्ने कार्यक्रममध्येकै एक हो । यसमा रेडियो सञ्चालनका लािग आवश्यक पर्ने आर्थिक संकलन गरिन्छ । यस्तै हामीले जुवाविरुद्धको सेमिनार समेत गर्न सक्यौं, यस्तै साईबर सुरक्षा सम्बन्धी कार्यशाला, जनगणनाको विाष्यमा सचेतनामूलक कार्यक्रम, बायोडाटा लेखन र अन्तर्वार्ताका शीपहरु पनि हामीले नयाँ आउने भाइबहिनीहरुलाई सिकायौं । यस्तै नियमित बाल चौतारीलाई दुई ठाउँमा आयोजना गरेका थियौं भने महिला दिदीबहिनीहरुलाई लक्षित गर्दै न्याभ तीज मेला सफलतापूर्वक गरेका छौं । बाल दिवस निकै उत्साहप्रद रह्यो भने नेपाल काईट फेष्टिभल समेत यहाँको समूदायलाई जोड्न कडी बन्न पुग्यो ।” अध्यक्ष डा. पोखरेलका अनुसार खेलकुदतर्फ मेलबर्न रेनेगेड्स च्याम्पियनशीप लिग २०१६, न्याभ कप क्रिकेट, न्याभ कप मल्टिकल्चरल क्रिकेट, नेपालको महिला क्रिकेटकी क्याप्टेन रुविना क्षेत्रीको सम्मान, न्याभ गल्फ प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिताहरुमा समेत यहाँका स्थानीय संघसंस्थाहरुसँग सहकार्य गर्दै सफलतापूर्वक सम्पन्न गर्न न्याभले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस्तै महिला विरुद्धको हिंसा, भानु जयन्ती, अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरका लािग सहकार्य, एनआरएनसँग नेपाल महोत्सवमा सहकार्य र फेडरेसन अफ नेप्लीज कम्युनिटी फेन्काको गोष्ठीमा पनि सक्रिय सहभागिता यस वर्षका उल्लेखनीय कार्यहरु रहेको उहाँको भनाई छ- “यसबाहेक पनि हामीले कतिपय सार्वजनिक गर्न मिल्ने र कतिपय गोपनीयताको कारण सार्वजनिक गर्न नमिल्ने सहयोगका कार्यहरुमा हामीले हात हालेका थियौं । समग्रमा यी कार्यहरु सफलतापूर्वक सम्पन्न भएको हामीलाई लाग्दछ ।”

(Visited 42 times, 1 visits today)
यो साझेदारी गर्नुहोस्:
http://rgit.edu.au/