१४ वर्षे एनआरएनए यात्रा र चुनावमा देखिएको विकृत स्वरुप, समाधान के ?

सर्वप्रथम आठौं विश्व सम्मेलनको पूर्वसन्ध्यामा र एनआरएन स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना छ । सन् २००३ देखि सुरु भएको गैरआवासीय नेपाली संघको अभियान सफलतापूर्वक अघि बढिरहेको छ । देशभन्दा बाहिर रहेर देशका लागि केही गर्ने सोचका साथ अभियानकै रुपमा थालिएको गैरआवासीय नेपाली संघले संस्थागत स्वरुप ग्रहण गरिरहँदा यसका चुनौतीहरु पनि बढ्दै गएका छन् । एनआरएनए जस्तो विश्वव्यापी संस्थाको आवश्यकता महसूस गरेर केही निश्चित उद्देश्यहरु तय गरी हाम्रा अग्रज एनआरएनएका अभियानकर्ताहरुले यसको सुरुवात गर्नुभएको थियो । उहाँहरुको अनवरत योगदानका कारणले नै केही उल्लेखनीय उपलब्धीहरु हासिल भएका छन् । आज यो संस्था ७५ देशमा आफ्नो सशक्त उपस्थिति जनाउन सफल छ । यसैगरी नेपालमा विधिवत दर्ता मात्र भएको छैन नेपालको नयाँ संविधानमा गैरआवासीय नेपालीहरुलाई विशेष नागरिकताको प्रावधान समेत समावेश गराउन सफल भएको छ । त्यस्तै एनआरएनएले विभिन्न परोपकारी परियोजना सञ्चालन गर्दै आपत विपतमा परेको बेला सहयोग गर्दै, विश्वभरि रहेका नेपालीहरुबीच भाइचारा बढाउने काम गर्न सफल भएको छ । यसको मतलब, एनआरएनले पहिलो चरणको उपलब्धीहरु हासिल गरिसकेको अवस्था छ । यसैकारण देशभन्दा बाहिर रहने नेपालीहरुको आशाको केन्द्र बन्न सफल भएको छ । यो उपलब्धीको जश यसलाई प्रारम्भ गर्ने अभियानकर्ताहरु र यसलाई निरन्तर लागेर अहिलेको परिस्थितिसम्म ल्याउने सबैलाई जान्छ । ७५ देशमा यसको सञ्जाल विस्तार हुनु चानचुने कुरा होइन । यो एनआरएनएको सबैभन्दा ठूलो शक्ति हो र यसलाई सही तरिकाले परिचालन गर्ने हो भने यसले एनआरएनको लागि, नेपाल र नेपालीको लागि महत्वपूर्ण योगदान पुर्याउने अवस्थामा योपुगेको छ। यद्यपि, एनआरएनएले हासिल गरेका उपलब्धीहरु र निर्माण गरेको विशाल सञ्जालका बाबजुद पनि यो संस्था कताकता हराइरहे जस्तो र नयाँ उद्देश्य निर्माणमा केन्द्रित नभएजस्तो देखिएको छ । निश्चित उद्देश्य, गन्तव्य र भरोसायोग्य योजना निर्माण नगर्ने हो भने संस्थाले थप चुनौतीहरु सामना गर्नुपर्ने अवस्थालाई नकार्न सकिन्न ।

महत्वपूर्ण उपलब्धीहरु र उपलब्धीसँगैका चुनौतीहरु

१. विशाल सञ्जालको निर्माण
सुरुवातमा केही सीमित देशहरुमा रहने नेपाली नेपालीबीचको सम्पर्क र सक्रियतामा अघि बढेको एनआरएन अभियान अहिले ७५ देशमा विस्तारित छ । यसको विशाल फैलावटसँगै चुनौती पनि बढेका छन् । व्यवस्थित रुपमा सञ्चालन गर्ने कार्यविधिको अभाव महसूस हुन थालेको छ । यस सञ्जालमा आबद्ध भएकाहरुले आफुलाई कसरी परिचालित गर्ने हो भन्नेसम्मको ज्ञान अभावमा कार्यगत एकरुपता र उद्देश्यगत स्पष्टता कार्यशैलीमा नदेखिनुले फैलावटलाई उपलब्धीसँगै चुनौतीको रुपमा पनि हेर्न सकिने अवस्था सिर्जना भएको छ । यो चुनौतीको सामना गर्नका लागि आवश्यक योजना निर्माण गर्न ढिला भइसकेको छ ।

२. नेपालमा संस्थागत दर्ता र सरकारी मान्यता
गैरआवासीय नेपाली संघ सन् २०१२ मा नेपाल सरकारको नियम बमोजिम विधिवत दर्ता भएको संस्था हो । सन् २००३ मा सुरुवात गरिएपनि ९ वर्षसम्म कसलाई गैरआवासीय नेपाली भन्ने, यिनलाई नेपाल सरकारले हेर्ने दृष्टिकोण र गैरआवासीय नेपालीहरुले पाउने अधिकारहरुका विषयमा भएको बहस र छलफलले मूर्त रुप लिन नसक्दा र यसमा देशभन्दा बाहिर रहने नेपाली र नेपालमा राज्य सञ्चालन गर्नेहरुबीच विचारमा एकरुपता आउन नसक्दा यो समय व्यतित भएको थियो । अहिले संस्था विधिवत दर्ता मात्र भएको छैन नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई आफ्नो महत्वपूर्ण साझेदारका रुपमा स्वीकार गरेको छ । नीतिगत निर्णय प्रक्रिया र देशभन्दा बाहिर रहेका कुटनीतिक नियोगहरुसँगको समेत समन्वयमा, तिनका गतिविधिमा पनि संस्थालाई सहभागिता गराउने प्रयत्नहरु भएका छन् । दर्ता गर्ने क्रममा नेपाल सरकारको तर्फबाट गैरआवासीय नेपाली संघको सदस्यताका लागि पूरा गर्नुपर्ने प्रावधानहरुका कारण विदेशमा रही अध्ययन गरिरहेका र काम गरिरहेको महत्वपूर्ण युवा हिस्सा छुटन गएको छ । सन् २०१२ पछि चार वर्षको समय व्यतित भइसक्दा पनि यो मुद्दालाई सम्बोधन गर्ने कुनै ठोस कार्यनीति आएको छैन ।

३. विशेष किसिमको नागरिकता
देशभन्दा बाहिर रहने नेपाली मूलका हामीहरुको निरन्तरको दोहोरो नागरिकता कायम रहनुपर्छ भन्ने मागलाई सम्बोधन गर्दै नयाँ बनेको संविधानमा नेपालका सबै राजनीतिक दलहरुले राजनीतिक अधिकार बाहेकको विशेष नागरिकताको प्रवधानलाई स्वीकृत गरेका छन् । संविधानमा नै गैरआवासीय नागरिकको लागि यस किसिमको व्यवस्था गरिएको उदाहरण कम मात्रै छ । यसअर्थमा हाम्रा लागि यो महत्वपूर्ण उपलब्धी नै हो । यसका साथै, पछिल्लो तयारी अनुसार देशभन्दा बाहिर रहने नेपाली नागरिकतावाहकहरुपनि चुनावमा सहभागी हुने अवसरबाट बञ्चित नहुन् भन्ने उद्देश्यले मताधिकारको व्यवस्था गर्न लागिएको छ । कुनै बाद, राजनीतिक घेरा र निश्चित विचारभन्दा माथि उठेर नेपाल र नेपालीप्रति समर्पित भएर अघि बढ्ने संस्थाको उद्देश्यमा यो नयाँ प्रावधानका कारण केही विचलन आउने हो कि भन्ने अवस्था सिर्जना भएको छ । मिलेर बसेको डायस्पोरा यही उपलब्धीका नाममा कतै चुनावको बेला या चुनावी तयारीका लागि विभाजित हुने त होइन ? यो गम्भीर विषयलाई एनआरएनका अभियन्ताहरुले अहिलेसम्म बुझ्न सकेका छैनन । यसमा गम्भीर छलफल आवश्यक देखिन्छ ।

४. एनआरएनएको आफ्नै भवन निर्माण योजनाः
विधिवत दर्ता भइसकेको अवस्थामा संस्थाको आफ्नै भवन हुनु राम्रो कुरा हो । भवन निर्माण गर्ने योजना केही वर्ष अघिदेखिकै भएपनि संस्था दर्ता पश्चता यसको निर्माण अनिवार्य बनेको थियो । तर, भवन निर्माणको चाहनासँगै यसलाई एनआरएनको अन्य गतिविधि बढाउने माध्यमका रुपमा अघि बढाउनुपर्नेमा अन्य गतिविधि समेत अबरुद्ध हुने गरी प्रमुख परियोजनाका रुपमा अघि बढाउँदा यसले संस्थाका अन्य गतिविधिलाई शिथिल बनाएको महसूस धेरैले गरेका छन् । अझ जग्गा खरिद, भवन निर्माण र यसका कानूनी पाटाहरुको विषयमा उठेका विवादले भवन बन्ने भो भन्ने खुशीसँगै अभियन्ताहरुको मन अमीलो बनाएको छ । उदाहरणको रुपमा एनआरएन अष्ट्रेलिया र यस अन्तर्गत रहेका सदस्यहरुले भवनकै लागि करिब ३ करोडभन्दा बढीको योगदान दिने प्रतिबद्धता जनाएका छन् । तर, भइरहेका गतिविधिको न त उनीहरुलाई औपचारिक जानकारी नै छ न त यस्तो जानकारी दिनुपर्छ भन्ने बुझाई नै संलग्नहरुमा विकास भएको छ । यसले अहिलेका लागि कुनै असर नभएजस्तो देखिएपनि समग्र एनआरएन गतिविधिकै विषयमा निराशा र शिथिलता आउन सक्दछ ।

५. भूकम्पप्रभावितहरुलाई राहत र पुननिर्माण
विनाशकारीभूकम्पको बेला देशबाहिर रहेका नेपालीहरुको देश र देशवासीप्रतिको माया, सहयोग र तत्परताको जति नै प्रशंसा गर्दा पनि कम नै हुन्छ । तत्कालैको उद्धार, त्यसपछिको राहत मात्र होइन अहिले पुननिर्माणसम्म पनि निरन्तर खटिएर आफ्ना दाजुभाई दिदी बहिनीको घाउमा मल्हम लगाउने प्रयासलाई राज्यको तर्फबाट र नागरिक तहमा पनि उच्च मूल्यांकन गरिएको छ । यसैलाई एनआरएनले सञ्चालन गर्न लागेको हजार घर निर्माणको योजनालाई सरकारी तवरमा दिइएको प्राथमिकताले स्पष्ट गर्दछ । तथापि यो एनआरएनको मुख्य योजना नभई परोपकारी भावना अनुसार स्वतः नेपालमा अप्ठेरो परेको बेला गरिएको सहयोग हो। तर, अहिलेस्म्मको अनुभवले यस किसिमका अप्ठेरो परिस्थितिमा एनआरएनएले गर्ने कार्यहरुको लागि संस्थागतरुपमा नैक्षमता अभिबृद्धि गर्नेतर्फ हामीलाग्नुपर्दछ भन्ने सन्देश पनि दिएको छ । एनआरएनएले गरेको योगदानको बाबजुद पनि यसले धेरै पैसा उठाएर पुननिर्माणमा महत्वपूर्ण योगदान गर्यो भन्ने कुरा सही होइन । यस संस्थाले आफ्नो सञ्जाल अनुसार, यसले पाएको प्रशंसा र गर्दै आएको गफ अनुसार आफ्नो फन्डरेजिंगलाई प्रभावकारी बनाउन नसकेको कुरालाई मनन गर्दै आउँदा दिनहरुमा यस्तो परिस्थितिमा कसरी प्रभावकारी तरिकाले काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नआवश्यक छ ।उदाहरणको निम्ति भूकम्पको बेला एनआरएनए अष्ट्रेलियाले आर्थिक संकलनको अभियान सन्चालन गरेको थियो । अष्ट्रेलियामा हरेक नेपालीहरुले भावनात्मक रुपमा एनआरएनए अष्ट्रेलियालाई विश्वास गरेर यो सहयोग प्रदान गरेका थिए ।जसबाट हामीले झण्डै १० करोड रुपैयाँ संकलन गर्न सफल भएका थियौं । वास्तविकतामा योभन्दा धेरै रकम नेपाली समूदायका सदस्यहरुले अन्य माध्यमबाट नेपालमा सहयोग गरेको देखिन्छ। तर, समन्वयको अभाव र अन्य विविध कारणले यो रकम एनआरएन मार्फत जान सकेन । यति गर्दागर्दै पनि एनआरएन अष्ट्रेलिया पुननिर्माणको महत्वपूर्ण हिस्सा बनेको छ । करिब २८ प्रतिशत पुननिर्माणको योगदान अष्ट्रेलियाबाट मात्रै भएको छ । यसले बाँकी ७४ देशमा रहेको हाम्रो सञ्जालको प्रभावकारिता, विश्वसनीयतामा कतै प्रश्न त उठेको छैन ? विचारणीय छ । साथै सहयोग राशी संकलन भइसकेपछिको अवस्थामा अपनाउन नसकिएको पारदर्शिता र जवाफदेहिताका कारण यो मुद्दा अझ बढी पेचिलो बनेको छ ।

६. अन्य परोपकारी परियोजनाहरु
एनआरएनएले अन्तर्राष्ट्रिय र राष्ट्रिय तहमा आफ्नै किसिमले विभिन्न परोपकारी परियोजनाहरु सञ्चालन गरिरहेको छ । बृद्धाश्रम निर्माण, पाठेघर खस्ने समस्याको सर्जरी, विद्यालय सम्बन्धी परियोजनाहरु
सहित आन्य स-साना पारीयोजन हरु पनि एनआरएनले गरेको छ ।
तर, समन्वयको अभाव, प्रोत्साहनको कमी र अन्तर्राष्ट्रिय समन्वय परिषद्को गम्भीरताको अभावका कारण यसले गर्नसक्नेजति परोपकारी कार्य हुन सकेको छैन । विश्वभरिबाट एउटै किसिमका परोपकारी कार्यहरु हुँदा समेत यसलाई एकरुपता दिने कार्य हुन नसक्दा यसको उपलब्धी नेपालमा सोचेजस्तो रुपमा हाँसिल हुन सकेको छैन ।


७. संस्थागत विकासका कामहरु

एनआरएनए, यसको विशाल सञ्जाल र यसमा संलग्नहरुलाई नेपालमा दिइएको महत्व, चासो, यसले पाएको सद्भाव अनुरुप हामीले संस्थागत विकास गर्न सकेका छैनौं । एनआरएनए आईसीसीको जग र बल भनेको नै एनआरएनए एनसीसीको नेटवर्क हो। तर, एनसीसीको यो नेटवर्कलाई काम गराउने निश्चित ईकाईका रुपमा मात्र नहेरी नीति निर्माण तहमा समेत महत्वपूर्ण योगददान दिने अवसर आजको आवश्यकता हो । संस्थाको दूरगामी भविष्यलाई निर्धारण गर्ने योजनाहरु ल्याउँदा, नीतिगत निर्णयहरु गर्दा राष्ट्रिय समन्वय परिषद्हरुको संलग्नता नहुनु दुखद कुरा हो । जब सम्म संस्थागत विकासको अवधारणा, भिजन र कार्ययोजना तयार गर्न एनसीसीलाई संलग्न गराइँदैन तबसम्म एनआरएनले तयार गरेका कुनैपनि कार्ययोजनाहरु प्रभावकारी हुनसक्दैन।

किन भयो त यस्तो ?
माथि नै चर्चा गरिसकियो, यी कमी कमजोरीका बाबजुद पनि हामीले महत्वपूर्ण उपलब्धी हासिल गरेका छौं । र, आगामी दिनमा पनि निश्चित सुधारहरु गरेर यसलाई सही बाटोमा लैजान सकिन्छ भन्ने ठम्याई हो । कमी कमजोरी सुधार्नु नेतृत्वका निम्ति नियमित प्रक्रिया अन्तर्गत कै कार्य हुनुपर्दछ । यसलाई निरन्तरको नियमित प्रक्रियामा ढाल्न सके र निश्चित संयन्त्र निर्माण गर्न सके यसले हाम्रो सञ्जाललाई नै बलियो बनाउने कुरामा दुईमत छैन । तर, त्यसअघि के कारणले हामीबाट कमी कमजोरीहरु भइरहेका छन् यो निक्र्यौल गर्नु पर्दछ ।

१.कार्यशैली र कार्यक्षेत्रलाई दुरुस्त राख्न नसक्नु
यस संस्थाले पहिलो चरणको उपलब्धी संस्थागतदर्ता, विशेष किसिमको नागरिकता, सञ्जालको विस्तार पश्चातसमय, संस्थाको विस्तार, उपलब्धी अनुसार यसको कार्यनीति र भविष्यका ठोस योजनाहरु ल्याउन सकेको छैन ।परोपकारी कार्य, आपत विपतमा सहयोगत विदेशमा रहेका अरु संघ संस्थाले पनि गर्दै आएका छन् ।यदि यही क्षेत्रमा केन्द्रित हुने प्रमुख उद्देश्य हो भने सोही अनुसार यसको क्षमता र अन्य संस्थाहरुसँगको सहकार्य गर्ने प्रारुप तयार पार्नुपर्ने हुन्छ।

२. व्यक्ति केन्द्रित नेतृत्वको विकासः
स्थापनाकालदेखिनै एनआरएनको नेतृत्व व्यक्ति केन्द्रित नै देखिन्छ । संस्थाको प्रथम लगानी ब्यक्तीलाई नेतामा स्थापित गर्नेतर्फ उन्मुख हुँदै गइरहेको देखिन्छ । जुन घातक हुन सक्छ । सुरुका दिनमा यसलाई नेतृत्व दिने व्यक्तिहरु व्यक्तिगत रुपमा सफल र ठूलो हिस्सालाई प्रभावित गर्ने क्षमताका थिए । एनआरएनएको व्यापक सञ्जाल निर्माण पनि यसैकारण भएको हो । यसले त्यतिखेर सकारात्मक नतिजा ल्याए पनि पछिल्ला दिनहरुमा यही प्रवृत्तिले संस्थालाई नकारात्मक असर गरेको देखिन्छ । अहिले नजिकबाट नियाल्ने हो भने संस्थाका प्राय गतिविधि अध्यक्षमा नै केन्द्रित देखिन्छन् ।अरु पदाधिकारीको गतिविधि शून्य प्राय नै छ । एनसीसीहरुले हासिल गरेको सफलताको श्रेय पनि उनीहरुलाई दिएको देखिँदैन । संस्थाको आकार, परिचालन र सञ्जाल तथा गतिविधिहरु बढेसँगै सामूहिक नेतृत्व र निर्णय प्रक्रियाको संस्कार विकास गर्नमा संस्था पछि परेको देखिन्छ ।

३.अस्वस्थ चुनावी प्रतिस्पर्धा र विकर्षण
जब एनआरएनएको नेतृत्व सर्वसम्मतीका आधारमा छानिन्थ्यो तबसम्म संस्थामार्फत एनआरएनहरु र नेपाल गएर साँच्चै योगदान गर्न चाहने मानिसहरुको सहभागिता पाइन्थ्यो । तर, पछिल्ला केही विश्वसम्मेलनहरुको चुनावी माहोल देखेर नै होला त्यतिखेर अघिसर्नेहरु, बुद्धिजीवीहरु पछि हटेका छन् । पैसामुखी निर्वाचन स्थापित गरी एनआरएन नेतृत्वलाई प्रबुद्ध वर्गको पहुँचभन्दा टाढा पुर्याइँदैछ । हुनपनि पछिल्ला चुनावहरुले नेतृत्व समूहमा चुनाव जित्नुछ भने पैसा र राजनीतिक प्रभाव भए हुन्छ, अनुभव, क्षमता र कार्ययोजनाको आवश्यकता पर्दैन भन्नेकुरालाई नै प्रमाणित गर्न खोजेको भान हुन्छ । पैसाखर्च गरेर विभिन्न देशबाट प्रतिनिधिहरुलाई होटलमा राख्ने, भोटको किनबेच गर्ने र राजनीतिक समर्थन लिएर केही एनआरएनए नेताहरु नेतृत्वमा आएको देखिन्छ। यस किसिमबाट नेतृत्वमा पुगेका नेताहरुबाट संस्थाको संस्थागत विकास गर्ने, यसको कार्यक्षेत्र, कार्यशैलीबारे बहस गर्ने र अवधारणा बनाउने कार्य हुन्छ भन्ने अपेक्षा शायद गल्ती नै थियो । तर, सुधारको गुञ्जायस नै नभएको भने होइन । चुनावी अभियानलाई काठमाडौं पुग्ने प्रतिनिधिहरुको मात्र चासो र सक्रियताको विषय बनाउनुभन्दा विश्वभरि रहेका सदस्यहरुको समेत सहभागिता सुनिश्चित गर्दै तिनैले प्रत्यक्ष विचार र भविष्यको योजना र अघि सारेका एजेन्डाका आधारमा नेतृत्वको चयन गर्ने अवसर सिर्जना गर्नु पर्दछ । प्रविधि र पद्धतिको विकासबाट यो सम्भव पनि छ ।

४. एनआरएनए व्यापारीको संस्था
एनआरएनएमा लाग्ने र लाग्नचाहने धेरै साथीहरु व्यापारिक पृष्ठभूमिबाट आएको सत्य हो । विदेशमा रही व्यापार व्यवसायमार्फत आफ्नो हैसियत निर्माण गरेका उनीहरुको संलग्नतालाई सहज रुपमा नै लिनुपर्ने हुन्छ । तर एनआरएनमा रहेको आफ्नोपदकोप्रभावाबटनेपालमाआफ्नो व्यक्तिगत व्यापारबढाउन खोज्नु भने पदको दुरुपयोग नै हो । यस्ता उदाहरण प्रशस्तैछन्। तर, विडम्बना भन्नुपर्छ व्यापारीको संस्था भएको आरोप एनआरएनले खेप्दै गर्दा उचित तवरमा देश बाहिर रहेको नेपाली व्यापारिक समूदायलाई भने संस्थामा समेट्ने सफलता हामीलाई मिलेको छैन । सामूहिक लगानीको अहिलेको स्थितिले नै यो कुरा प्रष्ट पार्दछ ।

५. नेपाली राजनीतिको प्रभाव
एनआरएनएको नेतृत्व समूहमा जान चाहने एनआरएनएका नेताहरुले चुनाव जित्न प्रभाव र पैसाको आडमा नेपाली राजनीतिक दलहरुको शरणमा पुगेर एनआरएनमा नेपाली राजनीतिलाई आफैंले निमन्त्रण गरेर हावी गराएको देखिन्छ । साथै संस्थाको विस्तारसँगै नेपालका राजनीतिक दलहरुले पनि आफ्ना विभिन्न देशमा रहेका कार्यकर्ताहरुलाई यसमा आबद्ध हुन प्रोत्साहन गरेको पाइएको छ । यस्तो संस्थामा विभिन्न तह र तप्काका व्यक्तिहरुको चासो जाग्नु राम्रो विषय भएपनि राजनीतिक प्रभावका कारण डायस्पोरा विभाजित त बनिरहेको छैन यो गम्भीर सोचनीय विषय बनेको छ । गैरराजनीतिक र गैरनाफामूलक संस्थाको छवि निर्माण गर्नुपर्नेमा नेपालका राजनीतिक दलहरुको मैदान जस्तो बनेको अवस्थाका कारण देशलाई साँचो माया गर्नेहरुको संस्थाप्रति विकर्षण बढ्दै गएको त होइन ? विचरणीय पक्ष बनेको छ । यसलाई रोक्नका लागि यसमा संलग्न नेतृत्ववर्ग मात्र होइन साधारण सदस्यसमेतले आफैंमा सुधार गर्नु पर्दछ ।

६.एन आर एन ए आईसीसी र एनसीसी बीचको सहकार्य अभाव
एनआरएनए आईसीसी र एनसीसीहरुसँग सही तरिकाले समन्वय गर्ने संस्कार र पद्धतिको विकास गर्न सकिएको छैन।जस्लेगर्दा आईसीसी र एनसीसीको बीचमा मनमुटाव भएको देखिन्छ । आईसीसीले एनसीसीलाई उपयुक्त योजना, कार्यक्षेत्र, अभिभावकत्व प्रदान गर्न नसकेका कारण एनसीसीहरुले स्थानीय समूदाय केन्द्रित गतिविधि जो अरु सामूदायिक संघसंस्थाले पनि गर्छन्, त्यस्तैमा सक्रिय हुन थालेका छन्।यसले गर्दा अरु संघसंस्थाले एनआरएनए एनसीसीलाई प्रतिस्पर्धीको रुपमा हेर्ने धारणा विकास हुन थालेकोछ । एनसीसीहरुको प्रभावकारिता यसले घटाउने काम गरेको छ ।यदि यसैले निरन्तरता पाइराख्ने हो भने हामी सबै नेपालबाहिर रहनेको साझा संस्था एनआरएनए भन्ने नारा केवल शब्दमा मात्र सीमित हुन बेर लाग्नेछैन ।

७.एनआरएनएको कार्यकाल र टास्कफोर्सहरुको निर्माण
अहिलेको प्रावधान अनुसार एनआरएनए नेतृत्वको कार्यकाल २ वर्षको रहेको छ । नयाँ टिम निर्माण भइसकेपछि विभिन्न टास्कफोर्सको पहिचान गर्ने र त्यसको निर्माण गर्ने कार्यमा नै ६ महिना भन्दाबढी समय बित्दछ ।टास्कफोर्स बनाउँदा पनि अनुभव र योग्यताको आधारमाभन्दा आफुलाई चुनावी अभियानमा सहयोग गरेकाहरुलाई पुरस्कृत गर्न टास्क फोर्सको नेतृत्व दिने प्रवृत्ति मौलाएको छ । जस्को कारणले धेरै टास्कफोर्सहरुले आफ्नो काम, कर्तव्य र अधिकार बुझ्दा बुझ्दै एक वर्ष बितिहाल्छ । र बाँकी रहेको ६ महिना काम गर्दा नगर्दै अर्को चुनावको चर्चा सुरु भइसक्छ ।यसको मतलब एनआरएनएको कार्यकालमा जम्मा काम गर्नेभनेको ६ महिना मात्र रहन जान्छ । यसैले कम्तिमा तीनवर्षको कार्यकाल बनाउने र टास्कफोर्स निर्माणलाई पारदर्शी बनाउने गरी पुनरावलोकन गर्न आवश्यक छ ।

८. संगठनको आन्तरिक सञ्चार र मिडिया

एनआरएनको आन्तरिक संचार प्रणाली प्रभावकारीहुन सकेको छैन । यसले आफ्न्न गतिबिधीहरु सबै सदस्यमाझ लैजान सकेको छैन । यस्तो अवस्थामा विभिन्न सञ्चार माध्यमको नै भर पर्नुपर्ने अवस्था छ । तर, एनआरएन र मिडियाको सम्बन्ध लेनदेनको सम्बन्ध जस्तो रुपमा विकास भइरहेको छ । कतै सानो काम गरेर ठूलोहल्ला गर्ने केही एनआरएनएको प्रवृत्तिलाई अहिलेका मिडियाहरुले राम्रैसँग साथ दिएको देखिन्छ । यसको मतलब पैसा खर्च गर्नेहरुका लागि सानो काम गरेपनि ठूलोजस्तो बनाएर हल्ला गर्ने र ठूलै काम भएपनि आफुसँग सम्पर्क नभएकाहरुको गतिविधिलाई स्थान नदिने प्रवृत्ति मौलाएको छ। यसमा मिडियालाई दोष दिनुभन्दा आफ्नै सुधारतर्फ लाग्नु आवश्यक छ । त्यसैगरी सामाजिक सञ्जलका कारण पनि विकृतिहरु मौलाएका छन् । यही विकृतिले निस्वार्थ भावमा यस अभियानमा आबद्ध भएकाहरुलाई निरुत्साही तुल्याएको प्रशस्त उदाहरणहरु छन् । यी कमजोरीहरुलाई हटाउन एनआरएन नेतृत्व र यसमा संलग्न सदस्यहरुको आफ्नै आचारसंहिता निर्माण गर्नु र आन्तरिक सञ्चार प्रणालीलाई प्रभावकारी रुपमा विकास गर्नु आजको अर्को आवश्यकता बनेको छ ।

र, अन्त्यमा
यहाँ उल्लेख गरिएका बुँदाहरु र चुनौतीहरु बाहेक पनि अरु धेरै कुराहरु छन जसलाई हामीले छलफलमा ल्याउनुर्छ ।
एनआरएनएले गएको १३ वर्षमा धेरै एनआरएनएहरुको संयुक्त प्रयासबाट बनेको संस्था हो । यो हामी सबै एनआरएनए र नेपाली जनता र नेपालको सम्पत्ति पनि हो ।
विश्व सम्मेलनमा हुने चुनावका लागि नेतृत्वमा बसेर काम गर्न चाहने साथीहरुले आफ्नो चुनावी अभियान अघि बढाएका छन् । तर पनि फेरि आफ्नो विचार, कार्ययोजना र भिजनलाई अगाडि सारेको र त्यसमा केन्द्रित बहस अगाडि बढाएको देखिँदैन । धेरैजसो साथीहरु फेरिपनि आफुले भनेको मान्ने समूह बनाउँदै, राजनीतिक विचारका आधारमा समूह निर्माण गरेर नेतृत्वमा पुग्ने बाटोमै देखिन्छन् । उहाँहरुले एनआरएनएको चुनौती र यसका दीर्घकालीन नीतिहरुको बारेमा छलफल अघि बढाउँदै आउँदा दिनहरुमा संस्थालाई झन मजबुत बनाउन चाहिने नीति निर्माण, कार्य योजनाको तयारीसहित चुनावी अभियानलाई अघि बढाउने संस्कारको सुरुवात गरेमा आगामी दिनमा संस्थागत सुधार हुँदै जानेछ । अन्यथा निरन्तरको यो अधोगतिको क्रम रोकिने छैन ।

(लेखक एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष हुन् ।)

(Visited 299 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अष्ट्रेलियामा पहिलोपटक सामूहिक ब्रतबन्ध हुँदै, सहभागी हुन आह्वान
अष्ट्रेलियामा भिसा लिएर आएका विद्यार्थी र तिनका एजेन्टसहित दुई करोड व्यक्तिहरुको अडिट गर्ने तयारी
गोरखा समाज अष्ट्रेलियाको दोस्रो बार्षिक साधारण सभाबाट त्रिलोचन पोखरेल नेतृत्वको नयाँ कार्यसमितिको चयन
नेपाली विद्यार्थी अनसुना महर्जनको मुटुमा देखियो समस्या, आर्थिक सहयोगको अपील
नयाँ वर्ष २०१८ को शुभकामना साट्दै नेपालको चुनावमा विजयी बनेको खुशीयाली मनाए सिड्नीका एमाले निकट प्रवासीहरुले
सिड्नीमा आईतबार ७९ वर्षयताको सबैभन्दा तातो दिन मापन, पेनिरिथमा तापक्रम ४७ दशमलब ३ डिग्री
सिड्नीमा समुद्री प्लेन दुर्घटनामा पाईलटसहित ६ जनाको मृत्यु भएको छ
अष्ट्रेलियाका प्रधानमन्त्री टर्नबुललाई २ सय ५० जरिवाना
एक्सपर्टको अन्तर्राष्ट्रिय विस्तार, भारत, हङकङमा खुल्यो अफ्रिकासम्मको योजना 
हजारौंको सहभागितामा मेलबर्न सप्ताह सकियो, एघार लाख डलर सहयोग जुट्यो