राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण, मनाइयो राष्ट्रिय एकता दिवस

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गर्नुभएको हो । यसैगरी उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा, आपूर्तिमन्त्री जयन्त चन्द, प्रधानसेनापति राजेन्द्र क्षत्री, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, काँग्रेस नेता डा रामशरण महतलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरुले शाहको शालिकमा माल्यार्पण गर्नुभएको थियो । यसैगरी विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकले शाहको शालिकमा माल्यार्पण गर्नुभएको थियो । नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।
दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेर सरकारले यस राष्ट्रिय पर्वमा बिदा कटौती गरे पनि यो वर्षबाट सार्वजनिक बिदा दिइएकाले महत्वका साथ राष्ट्रिय एकता दिवस मनाइएको हो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्ति सहभागी हुनुहुन्थ्यो । लामो समयदेखि पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रियस्तरबाट मनाउनुपर्ने माग गर्दै अभियानमा लाग्नुभएका पूर्वमन्त्री मोदनाथ प्रश्रित यो वर्ष यस दिवसमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिलगायत सरकारका उच्च ओहोदाका व्यक्तिको उपस्थिति भएकामा खुशी हुँदै भन्नुन्छ, “गत वर्ष यही दिवसका अबसरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाँदा पनि प्रहरीले अभद्र व्यवहार गथ्र्यो, अहिले आनन्दका साथ मनाउन पाइयो, हामी सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।” गोरखाका राजा शाहले विसं १८०१ असोज २ गते नुवाकोट विजय गरेपछि पृथ्वीनारायण शाहले तत्कालीन बाइसे तथा चौबीसेसहितका साना राज्य एकीकरण गरेर मुलुकलाई एकसूत्रमा बाँध्नुभएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा गंगाप्रसाद उप्रेती पृथ्वीनारायण शाहका राष्ट्रिय एकतासम्बन्धी दिव्योपदेशलाई कार्यान्वयनमा ल्याएमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुहुन्छ । “यो दिवस प्रज्ञा–प्रतिष्ठान वा एक मन्त्रालयले मात्र मनाएर हुँदैन, देशव्यापीरुपमा मनाउनुपर्छ”, उहाँ भन्नुहुन्छ ।
पण्डित विश्वप्रेम भट्टराई सरकारले ढिलै भए पनि पृथ्वीनारायण शाहलाई सम्मान गरेर राम्रो कामको थालनी गरेको बताउनुहुन्छ । “सरकारले पृथ्वीनारायण शाहको योगदानलाई ढिलै भए पनि सम्झेको छ, अब मुलुक सशक्त भएर अगाडि बढ्नेछ”, उहाँ भन्नुहुन्छ ।
बाइसे तथा चौबीसेसहितका राज्यलाई एकिकरण गरेर विशाल राज्य खडा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै राष्ट्रिय एकता पार्टीका अध्यक्ष शरद दाहाल भन्नुहुन्छ । “संघीयताको नाममा सरकारले मुलुकमा महत्वपूर्ण योगदान दिने व्यक्तिलाई बिर्सन हुँदैन ।”
कलाकार सन्तोष पन्त पनि जनताले मानेका व्यक्ति पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सरकारले सार्वजनिक बिदा दिनु नेपाली जनताको विजय भएको बताउहुन्छ ।
विसं २०६२÷६३ को जनआन्दोलनपछि सरकारले यस दिवसमा बिदा कटौती गरे पनि यो वर्षबाट आजका दिन पुनः बिदा दिन थालेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव पृथ्वीनारायण शाहका दिव्योपदेश नयाँ ढंगबाट अध्ययन गर्नुपर्ने बताउनुहुन्छ । “पृथ्वीनारायण शाहले लामो समयको नेपाललाई कल्पना गरेर दिव्योपदेश दिनुभएको हो, यो अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ”, उहाँ भन्नुहुन्छ । सबै भाषा, धर्म, संस्कृति, चालचलन, बोलिचाली र व्यवहारलाई एकै सुत्रमा बाँध्न सकेमात्र राष्ट्रिय एकता दिवसको सार्थकता हुने उहाँको भनाइ छ । बीस वर्षको सानो उमेरमा गोरखाका राजा हुनुभएका शाहले विभिन्न राज्यलाई एकीकरण गरी विशाल नेपाल बनाउनुभएको थियो ।

(Visited 7 times, 1 visits today)

सम्बन्धित समाचारहरू

बाह्र राशी मकर मेलामा प्रधानमन्त्री देउवा, राष्ट्रियसभाको चुनावपछि सरकारबाट बाहिरिने स्पष्टीकरण
पूर्वसांसदहरुलाई करोडौं बाँड्ने प्रयास असफल, सर्वोच्चले लगायो अंकुश !
बारले गर्यो गोविन्दराज डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह, पराजुलीको बचाउ
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण, मनाइयो राष्ट्रिय एकता दिवस
डाक्टर गोविन्द केसी धरौटीमा रिहा, प्रधान्यायाधीशको नागरिकता र शैक्षिक योग्यताको छानविन हुने
चौध बुँदामा सर्वोच्च अदालतमा डा गोविन्द केसीको बयान, बुधबारबाट सुनवाई
नारायणी नदीमा नेपालकै पहिलो अत्याधुनिक प्रविधिको ‘सिग्नेचर ब्रिज’ बन्ने
डाक्टर गोविन्द केसी पक्राउ, गृहमन्त्री समेत रहेका प्रधानमन्त्री देउवाले भने मलाई थाहा नदिने ?
डा केसीलाई पक्राउ गरी अदालतमा पेश गर्न सर्वोच्चको आदेश, अब के होला ?
प्रधानन्यायाधीशलाई बर्खास्त गर्नुपर्ने माग गर्दै डाक्टर गोविन्द केसी आमरण अनसनमा