उजागर हुन नसकेको अचम्मको प्राकृतिक पुल जहाँ गाडी पनि चल्छ

– हरि बाँस्तोला
ठूलो नदीमाथि प्राकृतिक पुलबाट यातायातको सुविधा पुगेको छ भन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ तर अचम्मको पुल कुनै विदेशको होइन नेपालको पर्यटकीय नगरी पोखराको भ्रमण गरे यथार्थ देख्न पाइन्छ । समुद्री सतहबाट लगभग ८०० मिटरको उचाइमा ढुंगा र माटोबाट मात्र निर्मित सेती नदीमाथि अवस्थित पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ टुटुङ्गा र १७ महतगौँडालाई जोड्ने आश्चर्य लाग्दो सो प्राकृतिक पुल आजसम्म पनि उजागर हुन सकेको छैन । नदीको दायाँबायाँ दुवै किनाराबाट जमिन धाँजा फाटेर एकैसाथ ढलेका ठूलाठूला चट्टान एकापसमा जोडिएको र पिँधमा नदीले खोलेर निकास बनाएपछि माथिल्लो भागले पुलको आकार लिएको हुनसक्ने भूगोलविद् प्रा डा कृष्ण केसीले बताउनुभयो । उहाँका अनुसार माछापुच्छ«े र अन्नपूर्ण हिमालको आसपासमा रहेका हिम ताल फुट्दा सेती नदीमा आएको बाढीले बगाएर ल्याएको ढुंगा, बालुवा, माटो, लेदोसहितको वन जंगलका अवशेषका कारण पोखरा उपत्यकाको उत्पत्ति भएसँगै सो पुल बनेको अनुमान गर्न सकिन्छ ।
पोखरा बजारको बीच भागबाट भूमिगतरुपमा बगेको सेतीनदी सो स्थानमा पुगेर खुल्ला भएको बताउँदै उहाँले दुर्लभै पाइने प्राकृतिक पुललाई विश्व बजारमा उजागर गरी आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा जोडिनु पर्ने बताउनुभयो । पोखराको दक्षिणी भेगमा अवस्थित लगभग ३०० फिट गहिराइ, ९० फिट लम्बाइ र २० फिटको चौडाइमा पिरामिड आकारमा निर्मित सो प्राकृतिक पुलबाट हाल साना तथा ठूला यातायातका साधन निर्वादरूपमा ओहोरदोहोर गर्दै आएका छन् । प्राकृतिक पुलको दुवैतर्फ धाँजा फाटेको स्थानमा झण्डै तीन किमीको दूरी फुस्रेखोलाबाट बोकेर ल्याएका ढुंगाका लामा लामा छपनी राखेर मानिस तथा जनावरलाई आवतजावतमा सुविधा पुगेको स्थानीय ज्येष्ठ नागरिक चन्द्रकान्त भण्डारीले बताउनुभयो । “धाँजा फाँटेको स्थान फड्केर पार गर्नुपर्ने भएका कारण विगतमा कतिपयले अकालमै ज्यान गुमाउनु परेको थियो”, उहाँले भन्नुभयो, “यस क्षेत्रका देवीदेवताको शक्तिले नै पुल अहिलेसम्म सुरक्षित रहेको छ ।”
पुलको पूर्व दक्षिण भागमा झण्डै दुई फिट तल सानो जंगलभित्र शिवलिङ्ग एवं विभिन्न पूजाका सामग्री भेटिएको र कहिलेकाहीँ शंख, घण्ट बजेको आवाज आउने गरेको स्थानीयवासी बताउँछन् । सो स्थानमा स्थानीय पहलमा एक दशक अगाडि मन्दिरसमेत निर्माण गरिएको छ । प्राकृतिक पुलको दायाँबायाँ कालोपत्रे गरेर सडक निर्माण गरिए पनि जुन पुलको भागमा ढुङ्गा छापेर मौलिकताको संरक्षण गरिए पनि पुर्खाले दुःख र साहसका साथ बोकेर ल्याएका ढुङ्गाका छपनी संरक्षणको अभावमा लोप हुँदै गएको स्थानीयवासी कर्णाखर भण्डारीले बताउनुभयो ।
पर्यटन मन्त्रालयको रु २५ लाखको आर्थिक सहयोगमा प्राकृतिक पुल संरक्षण, भ्यू प्वाइन्ट, टिकटघर, प्रवेशद्वार, मन्दिर संरक्षण, डिलभिरमा तारबार, शौचालय, सुरक्षाघरलगायतका विभिन्न भौतिक संरचना तयार गरिएको ढुङ्गेसाँघु पर्यटनस्थल संरक्षण समितिका सचिव रघुनाथ भण्डारीले जानकारी दिनुभयो । प्राकृतिक पुलको बनोटदेखि महादेव मन्दिरसम्म पुग्ने बाटो निर्माण गर्ने तयारीमा समिति जुटेको र पुलको भारवहन क्षमताका आधारमा यातायातका साधन सञ्चालन गरिने योजना रहेको जानकी आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका भण्डारीले भन्नुभयो । पर्यटकीय नगरी पोखरा तथा आसपासमा रहेका प्राकृतिक स्रोतको पहिचान र थप पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा जोड दिइने नेपाल ट्रेकिङ एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट ९नाटा० का अध्यक्ष दिलप्रसाद गौतमले बताउनुभयो ।
नेपाल पर्यटन बोर्डले तयार पारेको पर्यटकीयस्थलको नक्सालाई पुनरावलोकन गरी नयाँ गन्तव्य थप गरिनु पर्ने छ भन्दै उहाँले सरोकारवाला सम्पूर्ण सङ्घसंस्थाको सहकार्यमा प्राकृतिक पुलको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गरिने जानकारी दिनुभयो ।
ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सो प्राकृतिक पुलको दायाँबायाँ भौतिक संरचना निर्माण, सीताघाटबाट जथाभावी नदीजन्य वस्तु दोहन तथा प्राविधिक जाँच बिना यातायातका साधन सञ्चालनले दिनप्रतिदिन पुल संकटमा पर्दै गएको सरोकारवाला विज्ञहरुको धारणा छ ।

(Visited 128 times, 1 visits today)

सम्बन्धित समाचारहरू

विमानभित्रै सुरु भयो एभिएसन संग्रहालय, अहिले विद्यार्थीलाई मात्र प्रवेश
१६ वर्षसम्म मौनव्रत !
सोनामाई मन्दिरमा भूत मेला शुरु, भारतबाट पनि आए दर्शनार्थी
उजागर हुन नसकेको अचम्मको प्राकृतिक पुल जहाँ गाडी पनि चल्छ
लामखुट्टे मारेको फोटो पोष्ट गरेपछि ट्वीटरले ब्लक गरिदियो एकाउन्ट
१३ बर्ष पहिले हराएको म्यारी ग्राम्सको हिराको औँठी करेसा बारीमा फेला
भक्तपुरमा उन्नाइस वर्षपछि पाण्डव कथामा आधारित सलःचा प्याखँ नाच हुँदै
झापाको कमल गाउँपालिकामा गोला प्रथा गर्दा पनि एमाले नै विजयी
बच्चा जन्मदै गर्दा एम्बुलेन्सलाई घेरे एक दर्जन सिंहले
दुर्लभ सेतो गिद्ध जाजरकोटमा भेटियो, संरक्षण आवश्यक